प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार यादवद्वारा घर दैलो कार्यक्रम सुरु।।

बिराटनगर।  आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का नेता राजकुमार यादव मोरङ क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गरेका छन्। उनले छाता छाप चुनाव चिन्हमा प्रतिस्पर्धा गर्दै आजदेखि औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका हुन्।

यादवले मतदाता सामु सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ। “मोरङ–५ अब प्रतीक्षामा होइन, नेतृत्वको तयारीमा छ। विकास कागजमा सीमित रहने छैन, जमिनमै देखिनेछ,” उनले बताएका छन्।

शिक्षा र स्वास्थ्यमा जोड

उनले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने, प्राविधिक तथा सीपमूलक शिक्षालाई विस्तार गर्ने र विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वास्थ्यतर्फ प्रत्येक वडामा प्रभावकारी सेवा विस्तार, अस्पताल तथा स्वास्थ्य चौकीलाई आधुनिक उपकरणले सुसज्जित गर्ने, विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गर्ने तथा मातृ–शिशु र ज्येष्ठ नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने योजना अघि सारेका छन्।

रोजगारी र उद्योग प्रवर्द्धन

यादवले बन्द उद्योग पुनः सञ्चालन र नयाँ उद्योग स्थापना गर्ने, सीप विकास तथा स्टार्टअपलाई प्रोत्साहन गर्ने, सहुलियत ऋणमार्फत उद्यमशीलता बढाउने र वैदेशिक रोजगारीमा जाने युवाका लागि सुरक्षा तथा परामर्श केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।

कृषि र पूर्वाधार विकास

कृषि क्षेत्रको आधुनिकीकरण, मल–बीउ र सिँचाइको उपलब्धता, कृषि उपजको उचित मूल्य सुनिश्चितता तथा दुग्ध, तरकारी, फलफूल र पशुपालनमा विशेष अभियान सञ्चालन गर्ने उनको योजना छ।

पूर्वाधारतर्फ सडक कालोपत्रे, पुल निर्माण, सुरक्षित खानेपानी तथा विद्युत विस्तार, बाढी नियन्त्रण र तटबन्ध निर्माणलाई तीव्रता दिने उनले बताएका छन्।

पर्यटन प्रवर्द्धनको योजना

पर्यटन क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राख्दै उनले बिराट राजाको दरबार को संरक्षण तथा सौन्दर्यीकरण गर्ने, सन्सारीमाई मन्दिर लगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको स्तरोन्नति र प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरेका छन्। ग्रामीण पर्यटन र होमस्टे विस्तारमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने उनको भनाइ छ।

सुशासनको प्रतिबद्धता

यादवले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, सुकुम्वासीलाई आवास र अधिकार सुनिश्चित गर्ने तथा मोरङ–५ लाई विकासको नमूना क्षेत्र बनाउने अटुट प्रतिबद्धता व्यक्त गरेका छन्।

“समृद्ध कृषि, शिक्षित युवा, स्वस्थ समाज र दिगो पूर्वाधार—यही मोरङ–५ को उज्ज्वल भविष्यको आधार हो,” उनले मतदातासमक्ष अपिल गरेका छन्।

Add a Comment