कान्तिपुर माविको ११औं वार्षिकोत्सव सम्पन्न
विराटनगर । कान्तिपुर माध्यमिक विद्यालयले आफ्नो ११औं वार्षिकोत्सव तथा अभिभावक दिवस तीनदिने विशेष कार्यक्रममार्फत भव्य रूपमा सम्पन्न गरेको छ। शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा १२ अध्ययन पूरा गरेका व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायका ७५० विद्यार्थीलाई औपचारिक बिदाइ गर्दै वार्षिक कार्यक्रम समापन गरिएको हो।
फागुन १४ गतेदेखि सुरु भएको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए। दोस्रो दिन जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालीग्राम दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने समापन सत्रमा राष्ट्रिय परीक्षा बोर्ड व्यवस्थापन कार्यालयका प्रमुख प्रकाशकुमार खरेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालयका प्रशासन सहायक गोपीकृष्ण आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रम तीन दिनसम्म भव्य र अनुशासित रूपमा सञ्चालन भएको प्राचार्य भेषराज नेपाल (भुवन)ले जानकारी दिए।
दोस्रो दिनको कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले विद्यालयले छोटो अवधिमै शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। उनले प्रविधिमैत्री शिक्षासँगै व्यावहारिक सीप र संस्कारयुक्त शिक्षाको आवश्यकता औंल्याए। विज्ञान तथा प्रविधि शिक्षासँगै नैतिक मूल्य र अनुशासनलाई प्राथमिकता दिएकै कारण विद्यालय कोशी प्रदेशकै अग्रणी संस्थामध्ये पर्न सफल भएको उनको भनाइ थियो।
विद्यालयका अनुसार हाल करिब तीन हजार विद्यार्थी अध्ययनरत छन्। महानगरपालिकाको छात्रवृत्ति नीतिअनुसार १०० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ भने उत्कृष्ट जीपीए, खेलकुद तथा अतिरिक्त क्रियाकलापका आधारमा समेत छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
अन्तिम दिन आयोजित बिदाइ समारोहमा कक्षा १२ उत्तीर्ण ७५० विद्यार्थीलाई औपचारिक रूपमा बिदाइ गरिएको थियो। शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व क्षमता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको विद्यालयले जनाएको छ।
समारोहमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति र नृत्यमार्फत कलेज जीवनका सम्झनाहरू साटासाट गरेका थिए। शिक्षक र विद्यार्थीबीच भावनात्मक वातावरण देखिएको थियो।
प्रमुख अतिथि खरेलले निरन्तर परिश्रम, अनुशासन र सकारात्मक सोच जीवन सफलताको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई समाजमा आफ्नो ज्ञान, सीप र चरित्रको परिचय दिन आग्रह गरे।
विद्यालयका अनुसार यहाँ अध्ययन गरेका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा एमबिबिएस अध्ययनतर्फ समेत उल्लेखनीय सफलता हासिल गरेका छन्।
भव्य कार्यक्रमसँगै कान्तिपुर माध्यमिक विद्यालयको ११औं वार्षिकोत्सव सम्पन्न भएको छ। विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय, प्रविधिमैत्री र सीपमूलक शिक्षामा केन्द्रित रहने प्रतिबद्धता जनाएको छ।

