भोजपुरमा बाँदरको उपद्रो, किसानको वर्षभरको कमाइ सखाप

विराटनगर । जिल्लाका किसानका लागि बाँदर प्रमुख समस्या बनेका छन्। मकै पाक्ने र धान रोप्ने समयमा बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट गर्न थालेपछि किसान हैरान भएका छन्।

बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानीलगायत नौवटै स्थानीय तहमा बाँदरको आतङ्क फैलिएको छ। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदरको गतिविधि बढेको स्थानीयको भनाइ छ।

रामप्रसादराई–६ का किसान राजेन्द्र राईका अनुसार, “वर्षभरि दुःख गरेर उत्पादन गरेको अन्नपात बाँदरले छिनभरमै सखाप पार्छ। यो समस्या बढ्दै गए बस्ती नै खाली हुन्छ।” भोजपुर नगरपालिका क्षेत्रमा पनि बाँदरको उपद्रोका कारण कतिपय किसान गाउँ छाड्न बाध्य भएका छन्।

बाँदर मकै, धान, फलफूललगायत बालीमा धावा बोल्ने गरेको छ। किसानले बारीमा कटेरा वा टहरा बनाएर हेरचाह गर्ने, यन्त्र पड्काएर तर्साउने जस्ता उपाय अपनाए पनि पछिल्लो समय बाँदरले त्यस्ता तरिका बेवास्ता गर्न थालेका छन्।

स्थानीयको भनाइमा, बाँदर नियन्त्रणका लागि सरकारले तत्काल प्रभावकारी विकल्प ल्याउनुपर्ने अवस्था आएको छ।