मानवताको उत्कृष्ट उदाहरण
दीपक ढकालको नेतृत्वमा ‘दर्शन नेपाल’को निःशुल्क सेवा अभियान, मानवताको उत्कृष्ट उदाहरण
दीपक ढकालको नेतृत्वमा सञ्चालन हुँदै आएको ‘दर्शन नेपाल’ले विगत पाँच वर्षदेखि निरन्तर रूपमा निःशुल्क सवारी सेवा प्रदान गर्दै आइरहेको छ। समाजका विपन्न, असहाय तथा आपतविपतमा परेका नागरिकहरूका लागि यो अभियान आशाको किरण बनेको छ। आर्थिक अवस्था कमजोर भएकै कारण अत्यावश्यक सेवा लिन नसक्नेहरूका लागि ‘दर्शन नेपाल’ले निःस्वार्थ भावनाले सेवा दिँदै आएको छ, जुन साँच्चिकै अनुकरणीय छ।
यस अभियानको सबैभन्दा प्रशंसनीय पक्ष भनेको सवारी चालक रवि ठाकुरीले आफ्नो निजी लगानीको सवारी साधन प्रयोग गरी निःशुल्क सेवा प्रदान गरिरहनु हो। कुनै व्यक्तिगत स्वार्थ बिना, समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै उहाँले निरन्तर रूपमा सेवा दिँदै आउनुभएको छ। विशेष गरी मृत्युजस्तो पीडादायी क्षणमा, परिवारजनले शवलाई आर्यघाटसम्म पुर्याउन नसक्ने अवस्थामा ‘दर्शन नेपाल’ निःशुल्क अभियान साँचो अर्थमा सारथी बनेको छ।
हाल यो सेवा क्षेत्र नम्बर ४, ५ र ६ लाई लक्षित गरी व्यवस्थित र सहज रूपमा सञ्चालन भइरहेको छ। आवश्यकताको आधारमा जुनसुकै समयमा पनि सेवा उपलब्ध गराउने प्रयास अभियानले गर्दै आएको छ। यसले समाजमा आपसी सहयोग, सहानुभूति र मानवता अझ मजबुत बनाएको छ।
निःशुल्क सवारी सेवामात्र नभई ‘दर्शन नेपाल’ले जीवन बचाउ अभियान, रक्तदान कार्यक्रम, सचेतनामूलक सामाजिक गतिविधिहरू जस्ता विभिन्न समाजोपयोगी कार्यहरू पनि गर्दै आएको छ। यस्ता कार्यहरूले युवापुस्तालाई समाजसेवातर्फ आकर्षित गर्नुका साथै सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।
संस्थाका अध्यक्ष दीपक ढकाल भन्नुहुन्छ,
“हामी सामाजिक प्राणी हौं। समाजमा जन्मिएपछि समाजप्रति केही दायित्व पूरा गर्नु हाम्रो कर्तव्य हो। आर्थिक लाभलाई पन्छाएर जनताले दिनु भएको माया, विश्वास र सहयोग नै हाम्रो अभियानको सबैभन्दा ठूलो शक्ति हो। यही मायाले हामीलाई अझ जिम्मेवार र सक्रिय बनाएको छ।”
भविष्यमा सेवा क्षेत्रलाई अझ विस्तार गर्दै अन्य वडाहरूमा समेत निःशुल्क सेवा पुर्याउने लक्ष्य ‘दर्शन नेपाल’ले लिएको छ। यस्ता निःस्वार्थ सामाजिक अभियानहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।
