उत्तरदायी शासन र नागरिकमैत्री सेवाबाट मात्रै सहिदहरूको बलिदान सार्थक ः मेयर कोइराला

विराटनगर । सहिद दिवसको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले देश र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदको बलिदानलाई व्यवहारिक शासन र सेवामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

जारी गरिएको सन्देशमा मेयर कोइरालाले धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीजस्ता अमर सहिदहरूले जहानियाँ राणा शासनको दमन र निरङ्कुशताविरुद्ध निर्भीक रूपमा आवाज उठाएको स्मरण गरेका छन् । उनीहरूको त्यागकै कारण नेपालमा प्रजातान्त्रिक चेतनाको विकास भएको र लोकतान्त्रिक यात्राले गति लिएको उल्लेख गरिएको छ ।
हरेक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहले इतिहासको स्मरण मात्र नभई वर्तमान नेतृत्व र भावी पुस्तामाथि थप जिम्मेवारी बोध गराउने मेयर कोइरालाको भनाइ छ ।

उनका अनुसार स्वतन्त्रता, नागरिक अधिकार, सामाजिक न्याय र सुशासनको संरक्षण नै सहिदप्रतिको वास्तविक सम्मान हो ।
देशभर सहिद स्तम्भ, सालिक र स्मारकमा श्रद्धासुमन अर्पण भइरहँदा सहिदहरूको सपना अनुरूपको समाज निर्माणमा कति अघि बढ्यौं भन्ने प्रश्नले सबैलाई आत्मसमीक्षा गर्न बाध्य बनाउने उनले बताए । लोकतन्त्रलाई सुदृढ बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र नागरिकको जीवनस्तर सुधार्ने विषयमा अझ दृढ संकल्प आवश्यक रहेको उनको धारणा छ ।

विराटनगर महानगरपालिकाको तर्फबाट समावेशी विकास, उत्तरदायी शासन र नागरिकमैत्री सेवा प्रवाहमार्फत सहिदहरूको बलिदानलाई सार्थक बनाइने प्रतिज्ञा पनि मेयर कोइरालाले व्यक्त गरेका छन् ।