देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि अघि बढिरहेको :नेकपा (एमाले) अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि अघि बढिरहेको बताएका छन्। सहिद दिवसको अवसरमा आज सन्देश दिँदै उनले सहिदले देखेको सपनाको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ ।’

उनले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा एमालेले अग्रसरता लिएको बताएका छन्। उनले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहेको उल्लेख गरेका छन्। ओलीले जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्ने धारणा राखेका छन्।

समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। सहिदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको उनको भनाई छ।

ओलीले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी सहिदले देखाएको मार्ग अनुशरण गर्नसक्ने स्पष्ट पारेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *