विकास जनताको हकहितमा हुनुपर्छ :अध्यक्ष महन्थ ठाकुर
महोत्तरी। लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले विकास जनताको हकहितमा हुनुपर्नेमा जोड दिएका छन्।
मंगलबार महोत्तरी आएका अध्यक्ष ठाकुरले जनमैत्री विकास नै अहिलेको मुख्य आधार रहेकाले सोही अनुसारको गतिविधि सञ्चालन गर्नका लागि जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष ठाकुरले शिक्षा, स्वास्थ्य सडक कृषि जस्ता आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढनुपर्नेमा जोड दिएका छन्।
ठाकुरले महिटानी नगरपालिकाको सानो धिरापुरमा एक कालोपत्रे सडकको शिलान्यास गरे। जलेश्वर–१० सारीदेखि सिमरदही धिरापुर, मझौरा बिसनपुर, गोबरौरा हुँदै दनौली सम्मको सडकखण्डको शिलान्यास गरेका हुन्।
६ करोड ८४ लाखको लागतमा प्रथम चरणमा सारीदेखि ठूलो धिरापुरसम्मको करिब ५ किलोमिटर सडक कालोपत्रे गरी निर्माण हुने छ।
बहुवर्षीय कार्यक्रमअन्तर्गत रहेको सो सडकको शिलान्यास भएको खण्ड अबको १२ महिनाभित्र निर्माण सम्पन्न हुने पूर्वाधार विकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख उदित ठाकुरले बताए।