Google search engine
Homeअन्तर्राष्ट्रियभूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगे

भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगे

अंकारा। टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। दक्षिणी सहर एन्टाक्यालाई केन्द्रविन्दु बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो । भूकम्पको धक्का सिरिया,लेबनान र इजिप्टमा पनि महशुस गरिएको थियो ।

टर्कीको प्रकोप तथा आपतकालीन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८.४४ मा भूकम्प गएको जनाएको छ । भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । यो भूकम्प आएपछि फेरि दर्जनौं पटक धक्का महसुस गरिएको थियो ।

यसअघि गत फागुन ६ गते गएको ७.८ म्याग्निच्युडको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । राहतकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्।

सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ । टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार पराकम्पन महसुस गरेको जनाएको छ ।

टर्कीका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका २९४ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् । जसमध्ये १८ जना गम्भीर घाइते छन्। सिरियामा एक सय ३० जना घाइते भएको तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्णरूपमा भत्किएका छन् ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular