Google search engine
Homeराजनीतिप्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले १४ महिनामै तीन पटक विश्वासको मत लिन लागेका हुन्।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने सम्भावित कार्यसूची तय भएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने र उक्त प्रस्तावमाथि छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिने पाण्डेयले जानकारी दिए।

फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।
नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले संसद्मा उपस्थित २७० सांसदमध्ये २६८ जनाले पक्षमा मत दिएका थिए। उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो। राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुन: विश्वासको मत लिएका थिए। दोस्रो पटक पुनः प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदा १७२ मत पक्षमा र विपक्षमा ८९ मत र मत दिन्नमा १ मत खसेको थियो।
हाल गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुन: एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular