विराट गोल्डकप: सेमिफाइनल समीकरण पूरा, चर्च ब्वाइज अन्तिम चारमा
विराटनगर / ९औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार विराटनगरस्थित शहीद रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
यसअघि नेपाल पुलिस, थ्रीस्टार र त्रिभूवन आर्मी सेमिफाइनलमा प्रवेश गरिसकेका थिए। अब सेमिफाइनलमा चर्च ब्वाइजले सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।
रिचर्ड र आकाशको गोलले चर्च ब्वाइजको जित
चर्च ब्वाइजका लागि रिचर्ड र आकाश राई ले गोल गरे। खेलको ३५औं मिनेटमा लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण प्रहार गर्दै गोल गर्दै अग्रता दिलाए। त्यसपछि, दोस्रो हाफमा मैदान छिरेका आकाश राईले ६४औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरे।
यो जितसँगै चर्च ब्वाइजले २५औं बुढासुब्बा गोल्डकप फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ। २७ माघमा सम्पन्न उक्त प्रतियोगिताको फाइनलमा एनआरटीले चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै उपाधि जितेको थियो।
एनआरटी र चर्च ब्वाइजको यो सिजनमा चौथो भेट
मोफसलका फुटबल प्रतियोगितामा यो सिजनमा एनआरटी र चर्च ब्वाइजको यो चौथो भेट थियो। हालसम्मको प्रतिस्पर्धामा दुवै टिमले दुई-दुई खेल जितेका छन्।
सेमिफाइनल खेल तालिका
आइतबार (पहिलो सेमिफाइनल): त्रिभूवन आर्मी बनाम थ्रीस्टार
सोमबार (दोस्रो सेमिफाइनल): नेपाल पुलिस बनाम चर्च ब्वाइज
प्रतियोगिताको फाइनल खेल आउँदो दिनमा हुने तय छ। विराट गोल्डकपको उपाधि भिडन्तका लागि चार उत्कृष्ट टिम मैदानमा उत्रिने तयारीमा छन्।