ताप्लेजुङ दुर्घटना : सेवारो चोकमा बोलेरो गाडी जलेर नष्ट, आमा–छोरा हेलिकोप्टरबाट काठमाडौं
विराटनगर । ताप्लेजुङको पाथीभरा दर्शन गर्न गइरहेका बेला गाडीमा आगलागी भएर घाइते भएका आमा–छोरालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई काठमाडौं लगिएको हो।
ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमयलाई अन्नपूर्ण कम्पनीको हेलिकोप्टरमा काठमाडौं पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलले जानकारी दिए। सविनाको शरीरका अधिकांश भाग जलेको छ। भविमयको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
तीर्थयात्री बोकेर गएको मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा सोमबार बिहान आगलागी भएको थियो। सेवारो चोकमा पुग्दा बिजुलीको खम्बाबाट लत्रिएको तार छोइँदा गाडीमा आगलागी भएको थियो।
जलेर ललितपुर–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, उनकी पत्नी ६९ वर्षीया सरिता पौडल र गाडी चालक फुङलिङ–१० का ४२ वर्षीय दुर्गा भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो। आध्या सविनाकी छोरी हुन् भने उनकै विनोद र सरिता बुवा आमा हुन्।