पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दिदी–भाइ दुर्घटनामा परे
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–३ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार काकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको यात्रुबाहक बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
उक्त ठक्करका कारण मोटरसाइकलको पछाडि सवार ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। उनी उदयपुरको बेलका नगरपालिका–८ की स्थानीय हुन्।
मोटरसाइकल चालक हरि शर्मा, इटहरी उपमहानगरपालिका–१२ का निवासी रहेका छन्। उनी मृतक आचार्यका भाइ हुन्। दुर्घटनामा घाइते भएका शर्मालाई थप उपचारका लागि विराटनगर लगिएको छ।
प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी अस्पताल पठाइएको छ।
घटनामा संलग्न बसका चालक कन्काई नगरपालिका–७ का ५१ वर्षीय सोमलाल चौधरीलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि चालकको लापरवाहीको आशङ्का गरिएको छ।