विराटनगरमा विषादी सेवनपछि मृत्यु, नोबेल अस्पतालमा तोडफोड र हुलदङ्गा
विराटनगर / मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि निधन भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदङ्गा भएको छ।
प्रमोद महतोले झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका थिए। गम्भीर अवस्थाका उनलाई बिहीबार साँझ ५ः३० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नोबेल अस्पताल रेफर गरिएको थियो, जहाँ राति ११ बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
महतोको मृत्युपछि शुक्रबार बिहान करिब १ः३० बजे उनका आफन्त र छिमेकीहरू अस्पतालमा भेला भई चिकित्सकहरूविरुद्ध नाराबाजी गर्दै तोडफोडमा उत्रिएका थिए। उनीहरूले चिकित्सकको लापरबाहीका कारण महतोको मृत्यु भएको आरोप लगाएका छन्।
उत्तेजित भिडले ढुंगामुढा गर्दा अस्पतालको ओपिडी प्रवेशद्वारको माथिल्लो सिसा फुटेको र निर्माणाधीन भवनका ५–६ वटा झ्यालका सिसा समेत क्षतिग्रस्त भएका छन्।
ढुंगामुढामा वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक राजेश दत्त घाइते भएका छन्। उनको दाहिने खुट्टाको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ। उनको उपचार नोबेल अस्पतालमै गरिएको छ।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट डिएसपी मदन केसी र डिएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा प्रहरी टोली खटाइएको थियो। प्रहरीले सामान्य बल प्रयोग गर्दै भिड तितरबितर पारेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी कार्य तीव्र पारिएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिएका छन्।