स्कारपियो दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाइते

उदयपुर / उदयपुरको कटारी नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मंगलबार बेलुका एक स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

चितवनबाट झापा जाँदै गरेको मे. १ च ३०४० नम्बरको स्कारपियो गाडी वैशाख १८ गते अपराह्न अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी झापा दमक नगरपालिका–३ निवासी ५५ वर्षीय माधव बस्नेतको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। बाँकी घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ।

घाइते हुनेहरूमा दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नविन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाल रहेका छन्।

गाडीका चालक दमक–९ निवासी ३८ वर्षीय देवेन्द्र तामाङलाई प्रहरीले उपचारपछि नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।