किशोरहरूका लागि सुरक्षित डिजिटल अनुभव: टिकटकले ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, निखिल उप्रेती परिवार ब्रान्ड दूत

काठमाडौं / लोकप्रिय सामाजिक सञ्जाल टिकटकले नेपालमा किशोर प्रयोगकर्तालाई लक्षित गर्दै ‘फ्यामिली पेयरिङ’ फिचर सार्वजनिक गरेको छ। शुक्रबार साँझ आयोजित विशेष कार्यक्रममा अभिनेता निखिल उप्रेती, अभिनेत्री संचितालुइँटेल र उनीहरूको परिवारलाई प्रवर्धन दूतको रूपमा सार्वजनिक गर्दै टिकटकले उक्त फिचरको औपचारिक सुरुवात गरेको हो।

टिकटकका अनुसार, ‘फ्यामिली पेयरिङ’ फिचरमार्फत अभिभावकले आफ्ना टिनएजर सन्तानको अकाउन्टलाई आफ्नै अकाउन्टसँग लिंक गर्न सक्नेछन्, जसले उनीहरूलाई विभिन्न सुरक्षा र गोपनीयता सम्बन्धी सेटिङहरूमा पहुँच प्रदान गर्दछ। यसले किशोर प्रयोगकर्ताको लागि सुरक्षित, जिम्मेवार र अनुगमनयोग्य डिजिटल वातावरण निर्माण गर्ने लक्ष्य लिएको टिकटकले जनाएको छ।

यो फिचर सक्रिय गर्न प्रयोगकर्ताले टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गई क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। त्यसपछि अभिभावकले सिधै आफ्नै मोबाइलबाट सन्तानको स्क्रिन टाइम, मेसेज, कमेन्ट, सर्च, र उमेरअनुसारको कन्टेन्ट जस्ता १५ भन्दा बढी सेटिङहरू नियन्त्रण गर्न सक्छन्।

कार्यक्रममा टिकटक दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोक्तिनले बोलेका थिए। उनले भने, “हाम्रो प्राथमिकता प्रयोगकर्ताको सुरक्षा हो, विशेष गरी किशोर प्रयोगकर्ताको। यो फिचरले परिवारलाई मानसिक शान्ति मात्र होइन, खुला संवादको माध्यम पनि प्रदान गर्छ।”

अभिनेता उप्रेतीले टिकटकको यो पहललाई स्वागत गर्दै भने, “यो फिचर नेपाली अभिभावकका लागि ढुक्कको विषय हो। तर, प्रविधिबाट टाढा राख्नु समाधान होइन। बुझेर प्रयोग गर्नु जरुरी छ।” उनकी पत्नी संचिताले पनि आमाहरू सन्तानको अनलाइन व्यवहारप्रति चिन्तित हुने गरेको उल्लेख गर्दै फिचर उपयोगी रहेको बताइन्।

टिकटकले देशभर यो फिचरको प्रचार गर्न डिजिटल इन्फ्लुएन्सर, मिडिया, आउटडोर विज्ञापन र सामाजिक संजालमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्ने जनाएको छ। उप्रेती परिवारले अभिनय गरेको विज्ञापनमार्फत पनि यो फिचरको जानकारी फैलाउने तयारी छ।

नेपाल सरकारमा दर्ता भई सञ्चालनमा रहेको टिकटकले सुरक्षित डिजिटल व्यवहारलाई प्रवर्धन गर्ने अभियानलाई नयाँ स्तरमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *