झापा र खोटाङमा पारिवारिक विवादले हत्या, दुई जना पक्राउ

विराटनगर /झापा र खोटाङ जिल्लामा पारिवारिक विवादले हिंसात्मक मोड लिँदा दुई जनाको ज्यान गएको छ भने घटनामा संलग्न दुई जना प्रहरीको नियन्त्रणमा आएका छन्।

झापाको कनकाई नगरपालिका–२, सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले आफ्नी श्रीमती ३४ वर्षीया पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका छन्। वैशाख २७ गते राति करिब साढे ८ बजे आपसी वादविवादको क्रममा कविराजले श्रीमतीको घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको टोलीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ मा पनि पारिवारिक विवादले ज्यान लिएको छ। ५३ वर्षीया रेनुका राईले सामान्य वादविवादका क्रममा आफ्ना श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको टाउकोमा कोदालोको पासो प्रहार गरेकी थिइन्। गम्भीर घाइते भएका राईलाई प्रहरीले उद्दार गरी हेलिकप्टरमार्फत काठमाडौंको न्युरो अस्पताल ल्याइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको हो। घटनामा संलग्न रेनुका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

दुवै घटनामा प्रहरी अनुसन्धान जारी रहेको छ। पारिवारिक झगडाले ज्यान जाने क्रम बढ्दै गइरहेको सन्दर्भमा समाजमा सचेतना र मानसिक स्वास्थ्यको अवस्था सुदृढ गर्न आवश्यक देखिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *