लागूऔषध गाँजासहित पाँच जना पक्राउ
विराटनगर। सुनसरी र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जेठ १ गते भएको प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै अपरेशनमा ठूलो परिणाममा गाँजा बरामद भएको हो।
सुनसरीको इलाका प्रहरी कार्यालय देवानगञ्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको टोलीले हरिनगर गाउँपालिका–७ का ५० वर्षीय मिकाईल मियालाई ५ किलो गाँजासहित नियन्त्रणमा लिएको छ।
यता, धनकुटाको प्रहरी चौकी मुलघाटले धनकुटा नगरपालिका–९ का ५१ वर्षीय राजु राईलाई २८ किलोग्राम गाँजासहित पक्राउ गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाउँपालिका–६ स्थित चेकजाँचको क्रममा शहिदभूमि गाउँपालिका–२ का २२ वर्षीय सन्तोष दर्जीलाई १२ किलो गाँजासहित पक्राउ गरेको जनाएको छ।
साथै, मोरङको सुन्दर हरैचा–१० का २६ वर्षीय जयराम सरदार र १८ वर्षीय सुदिप सरदारलाई संयुक्त रूपमा ३ किलो गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि लागूपदार्थ सम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।