झापा र मोरङमा लागूऔषध ब्राउन सुगरसहित २१ जना पक्राउ
विराटनगर/ झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउन सुगरसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया, सिजुवा र उर्लाबारीको संयुक्त टोलीले विशेष चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जेठ २ गते मोरङको रतुवामाई नगरपालिका-२ स्थितबाट सुरु भएको अभियान अन्तर्गत, रतुवामाई-८ का ३३ वर्षीय नबिन नेपालीको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। त्यसपछि क्रमशः रतुवामाई-९ का २५ वर्षीय मनिष राई र ३३ वर्षीय डिकेन्द्र तामाङको साथबाट ७ ग्राम ४३० मिलिग्राम, पथरी शनिश्चरे-२ का बुद्धिराज राई र सुर्य बिकसँग ४ ग्राम ७५० मिलिग्राम, कानेपोखरी-७ का जोनी राईसँग २ ग्राम ६१० मिलिग्राम, लेटाङ-६ का अशोक कटुवाल र सनम राईसँग ४ ग्राम ३२० मिलिग्राम, उर्लाबारी-२ का मिलन ढकाल र मुकुन्द दुलालसँग ४ ग्राम ६९० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, झापा गौरादह-८ का २३ वर्षीय ओम नारायण ताजपुरिया, कमल गाउँपालिका-२ का समिर न्यौपाने र निरज सुब्बा, कमल-४ का इन्द्र लिम्बु र सुमन राई, दमक-५ का आशिष कुमार साह र निरज सुबेदीको साथबाट पनि ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
उक्त दिन नै उर्लाबारी नगरपालिका-४ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले ४९ वर्षीया लिला कुमारी थारु, उनका छोरा २५ वर्षीय रञ्जित धामी थारु र २४ वर्षीय प्रबिन धामी थारुलाई २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
यस्तै, झापा बिर्तामोड-५ मा लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाको टोलीले मेचिनगर-१० का २३ वर्षीय अंकित खरेललाई १ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र ९ वटा निषेधित क्याप्सुलसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।