May 24, 2025
गाँजा ओसारपसारमा संलग्न एक जना पक्राउ, ८९० किलो गाँजा बरामद
धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित ओख्रेबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान प्र.१-०२-००२ च ५२३८ नम्बरको महेन्द्रा पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाइ राखिएको प्लास्टिकको २९ बोरा गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजाको कुल तौल ८ सय ९० किलोग्राम रहेको छ। उक्त गाडीमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका–२ का उल्लास लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका लिम्बुलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागुऔषध ओसारपसार नियन्त्रण गर्न विभिन्न स्थानमा निगरानी र चेकजाँच कार्यलाई अझ कडा बनाइएको छ।