विराटनगरबाट पठाइएको कार्गो च्यातिएको अवस्थामा काठमाडौँ पुग्यो, सेवाग्राहीको गुनासो
विराटनगर / यति एयरलाइन्समार्फत विराटनगरबाट काठमाडौँ पठाइएको कार्गो चोरी गर्ने उद्देश्यले च्यातिएको अवस्थामा पुगेको भन्दै एक सेवाग्राहीले गम्भीर आरोप लगाएका छन्। नेपाल सरकारका पूर्व उपसचिव प्रेमप्रसाद सञ्जेलले करिब ५० हजार रुपैयाँ बराबरको औषधी, लत्ताकपडा र अन्य उपभोग्य सामग्री समेटिएको दुईवटा कार्टुन काठमाडौँ पठाएका थिए। ती सामग्री तारले कसेर सुरक्षित रूपमा प्याक गरिएको भए पनि काठमाडौँमा च्यातिएको अवस्थामा प्राप्त भएको उनले बताएका छन्।
सञ्जेलका अनुसार कार्गो काठमाडौँमा आफन्तले बुझ्दा तार काटिएको र कार्टुन फाटेको अवस्थामा थियो। उनले सामान्य कुरियर सेवाको सट्टा सुरक्षित र छिटो हुने विश्वासमा यति एयरलाइन्समार्फत महँगो शुल्क तिरेर सामग्री पठाएको भए पनि ढुवानी ढिलो भएको र सामानको अवस्था क्षतविक्षत देखिएको बताए।
उनले यति एयरलाइन्सका विराटनगर स्टेशन म्यानेजर प्रेम कुँवरले सुरुमा गल्ती स्वीकार्दै माफी मागेका तर पछि कार्गो तान्दा कार्टुन च्यातिएको हुन सक्ने भनेर पन्छिन खोजेको आरोप पनि लगाएका छन्।
“चोरी गर्ने नियतले मेरो नाम थाहा नभएसम्म कार्टुन च्यातियो होला, पछि डरले पुनः त्यही च्यातिएको कार्टुनमा सामान हालेर पठाइएको देखिन्छ,” सञ्जेलले भने।
पूर्व निजामती कर्मचारी सञ्जेलले यो घटनाले हवाई ढुवानी प्रणाली र विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताउँदै नियमनकारी निकायहरू थप जिम्मेवार र सजग बन्नुपर्ने बताएका छन्। “हामी सचेतहरूले पठाएको सामानको यस्तो हाल छ भने सर्वसाधारणको त झन् अवस्था भयावह हुन सक्छ,” उनले भने।