पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं / पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ स्थित अम्रसा भन्ने स्थानमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

अम्रसा गाउँबाट चोरमारातर्फ गइरहेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ। उक्त मोटरसाइकलमा तीन जना सवार थिए।

दुर्घटनामा परी मध्यविन्दु नगरपालिका–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

उक्त दुर्घटनामा बर्दघाट नगरपालिका–५ घर भई हाल मध्यविन्दु–७ बसोबास गर्दै आएका २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। घाइते घर्तीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *