‘नरसिंहाः अवतार’ कोशी प्रदेशमा दर्शकको अपार साथ: महानायक राजेश हमाललाई हलमै भेट्न दर्शकको भिड

विराटनगर/ महानायक राजेश हमालको कमब्याक सिनेमा ‘नरसिंहाः अवतार’ ले प्रदर्शनको पहिलो साता उत्साहजनक व्यापार गर्दै सशक्त उपस्थिति जनाइरहेका बेला, सिनेमा टिमले कोशी प्रदेशलाई प्राथमिकता दिँदै मोफसल दौडाहा सम्पन्न गरेको छ।

गत शुक्रबार, जेठ ९ गतेबाट प्रदर्शनमा आएको यो सिनेमा शुक्रबार र शनिबार देशभर उल्लेखनीय ओपनिङ गर्न सफल भएको थियो। वितरक करण श्रेष्ठका अनुसार तेस्रो दिन आइतबार र चौथो दिन सोमबारसम्म पनि सिनेमाले सुखद् व्यापार गरिरहेको छ।

सोमबारबाट सुरु भएको मोफसल दौडाहामा कोशी प्रदेशका प्रमुख शहरहरू विराटनगर, इटहरी, बिर्तामोड, दमक र धरान पुगेको निर्माण टिमले स्थानीय दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको थियो। निर्माता नरेन्द्र महर्जनका अनुसार, पूर्वी नेपालमा सिनेमाले उल्लेखनीय साथ पाउनुका साथै राजेश हमालको उपस्थितिले हलहरूमा दर्शकको उर्जाशील सहभागिता देखिएको थियो।

करीब एक दशकपछि सिनेमा प्रवर्द्धनका लागि मोफसल पुगेका महानायक हमाललाई पूर्वी नेपालका दर्शकले न्यानो स्वागत मात्र हैन, सेल्फी खिच्न तछाडमछाड समेत गरेका थिए। कोशी प्रदेशका हलहरूमा ‘नरसिंहाः अवतार’ हेर्न पुगेका दर्शकहरूले महानायकलाई प्रत्यक्ष भेट्न पाउँदा अत्यन्तै खुशी व्यक्त गरेका थिए ।

पूर्वमा मिलेको व्यापक समर्थन र क्रेजलाई ध्यानमा राख्दै टिम अहिले पश्चिम नेपालतर्फ लागिसकेको छ, जहाँ नेपालगञ्ज, धनगढी, दाङ, बुटवल, नारायणगढ लगायतका सहरमा साक्षात्कार कार्यक्रम हुँदैछ। निर्देशक दीवाकर भट्टराईका अनुसार, पूर्वी नेपालको दौडाहाले सिनेमा अभियानमा सकारात्मक ऊर्जा थपेको छ।

सादा पहिरन र विनातडकभडक हल पुगेका महानायक हमालको सादगीपनप्रति दर्शक तथा सञ्चारकर्मीले खुलेर प्रशंसा गरेका छन्। प्रचारको तरिकामा सरलता देखाउँदै उनले दर्शकमाझ आत्मीयता थपेका छन्।

‘नरसिंहाः अवतार’ क्रियटिभ सिने आर्ट्सको ब्यानरमा बनेको हो। सिनेमामा राजेश हमाल, राज कटुवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकार लगायतको अभिनय रहेको छ। छायांकन राजु विक्रम थापा र सम्पादन साहिल खानको रहेको यो सिनेमा सहकारी र सामाजिक न्यायका विषयमा आधारित एक्शन ड्रामा हो।