उदयपुरमा लागूऔषध गाँजासहित दुई महिला पक्राउ, सयौं किलो गाँजा बरामद
विराटनगर / उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ बाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ । सोही क्रममा दुई महिलालाई गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार, विशेष सूचनाका आधारमा जेठ १५ गते खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–१ स्थित रत्न माया श्रेष्ठको घरमा खानतलासी गर्दा सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकका बोरामा लुकाई राखेको १,१४३ किलो २७५ ग्राम गाँजा फेला पारेको हो ।
गाँजा बरामद भएपछि संलग्न दुबै महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यता सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा वेवारिसे अवस्थामा ट्युवमा बग्दै आएको ८ वटा प्लास्टिकका बोरामा रहेको २०० किलो गाँजा समेत प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उक्त गाँजा नियन्त्रणमा लिएको हो ।
प्रहरीले दुबै घटनालाई गम्भीर रूपमा लिँदै लागूऔषध नियन्त्रण सम्बन्धी कारबाही अघि बढाएको जनाएको छ ।