प्रतिबन्धित लागूऔषध सहित ८ जना पक्राउ
विराटनगर/ झापा, मोरङ र धनकुटाका विभिन्न स्थानहरूमा प्रतिबन्धित लागूऔषधको कारोबारमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको अर्जुनधारा नगरपालिका–६ स्थित कप्तानबारी सुकुम्बासी बस्तीबाट ३५ वर्षीय राम बहादुर दनुवारलाई प्रहरीले ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिने क्रममा मेचीनगर नगरपालिका–३ का ३२ वर्षीय अनिल दनुवारलाई समेत पक्राउ गरिएको छ। दुवैजनालाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उर्लाबारी नगरपालिका–१ का ३१ वर्षीय सनम माझीलाई पक्राउ गरेको छ। उनको घरमा लुकाई छिपाई राखिएको १०० चक्की Vomine-25, ७०० चक्की Antikof र ७०० क्याप्सुल Tramadol फेला परेको प्रहरीले जनाएको छ।
उता, धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले चौबिसे गाउँपालिका–६ मा लागूऔषध कारोबारमा संलग्न २२ वर्षीय पुजन लिम्बु, २२ वर्षीय सेसेहाङ चेम्जुङ, २२ वर्षीय जेम्सन लिम्बु र ३७ वर्षीय दिनेश लिम्बुलाई पक्राउ गरेको छ। उनीहरूबाट ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर र नगद ४१ हजार ५०० रुपैयाँ बरामद गरिएको छ।
पक्राउ परेका सबै विरुद्ध लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयहरूले जानकारी दिएका छन्।