लागुऔषध सहित झापा र सुनसरीबाट दुई जना पक्राउ

बिराटनगर/झापा र सुनसरी जिल्लाबाट लागुऔषध सहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारत दार्जिलिङ निवासी २४ वर्षीय अभिजित सिंहलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। उनको साथबाट १३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१७ का २२ वर्षीय टाइटस कार्कीलाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ। अस्थायी प्रहरी चौकी रेलवे धरानबाट खटिएको टोलीले उनलाई प्रतिबन्धित लागुऔषध ४ हजार ४१० ट्याब्लेटसहित उनको घरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।