सुनवर्षीमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते
सुनवर्षी/ मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–९ मलढैया स्थित झपडतल–डाइनिया हुलाकी सडक खण्डमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्।
झपडतलबाट डाइनिया तर्फ जाँदै गरेको मे.७प.१०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा बिग्रिएर रोकी राखिएको को.१त.११०५ नम्बरको ट्याक्टरको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकल चालक भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाको डाबरा सरनपुर निवासी अन्दाजी २० वर्षीय नबिन कुमार पौदार गम्भीर घाइते भएका थिए। उपचारका लागि रंगेली अस्पताल लगिएकोमा साँझ ८:२५ बजे मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
त्यसैगरी, मोटरसाइकलमा सवार अर्का व्यक्ति अररिया जिल्लाको आमगाछी पंचायत–७ कोहारा निवासी अन्दाजी १९ वर्षीय पप्पु कुमार बहरदार घाइते भएका छन्। उनको दुबै हातमा चोट लागेकाले हाल रंगेली अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।