युवतीलाई पेट्रोल छर्की हत्या गरिएको घटनामा संलग्न अभियुक्तकाे बुवा पक्राउ
बिराटनगर / झापा अर्जुनधारा–११ की २१ वर्षीया इशा योगी शेर्पामाथि भएको निर्मम आगजनी तथा हत्या प्रकरणमा अभियुक्त रुद्रराज लामाका पिता एसराज लामा पक्राउ परेका छन्। मोरङ जिल्ला अदालतबाट म्याद थपसहित अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
घटना २०७६ साल वैशाख ८ गतेको हो। बिराटनगर महानगरपालिका–१६ मा भाडामा बसी पसलमा काम गरिरहेकी इशा योगी शेर्पाको प्रेम सम्बन्ध रुद्रराज लामा (रेम्बो) सँग रहेको जनाइएको छ। घटनाको दिन रुद्रराजले घरमै बोलाई, परिवारको मिलेमतोमा इशामाथि पेट्रोल छर्की आगो लगाएको आरोप लागेको छ। आगजनीबाट गम्भीर घाइते भएकी इशालाई सुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्यसपछि कीर्तिपुर अस्पताल काठमाडौँ लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयमा २०७६ जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। घटनापछि मुख्य अभियुक्त रेम्बो भनिने रुद्रराज लामा फरार छन्। प्रहरी अनुसन्धानका क्रममा मिति २०८२ जेठ २४ गते रुद्रराजका बुबा, ५५ वर्षीय एसराज लामालाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउपछिको अनुसन्धानका लागि मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।