कोशीमा वेपत्ता भएका दुई जनाको शव फेला
विराटनगर। विपद उद्धार तालिमका सहभागी हुने क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउदको शव फेला परेको छ। उनीसहित दुई जना बेपत्ता भएका थिए। अर्का एक जना पनि मृत अवस्थामा भेटिएका छन्।
साउदको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेको प्रहरीले जनाएको छ। अभ्यास गर्ने क्रममा डुबेका अर्का जवान झापाका हरदेव राजवंशीको शव गत शुक्रबार फेला परेको थियो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा गत बिहीबार मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा राजवंशी र साउद बेपत्ता भएका थिए।
राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत् थिए। साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए।
सशस्त्र प्रहरीको ५६ जनाको टोली विपद उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको अवस्थामा उक्त घटना भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए।