हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाको छानविन गर्न समिति गठन
फिदिम। मेची राजमार्ग अन्तर्गत फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम-४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गम्भीर ध्यान दिएको छ। मन्त्रालयले सो घटनाको स्थलगत अध्ययन तथा छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयअनुसार गठित सो समितिको संयोजकत्व सडक विभागका उपमहानिर्देशक ललिजन खनालले गर्ने छन्। समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन कार्यालयका प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन्।
समितिलाई पुल भत्कनुको कारण पत्ता लगाउने, भविष्यमा यस्ता घटना हुन नदिनका लागि आवश्यक सिफारिसहरु प्रस्तुत गर्ने तथा सो स्थानमा अस्थायी यातायात सञ्चालनको व्यवस्था मिलाउने सम्बन्धमा सुझावसहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्ने जिम्मेवारी दिइएको छ। समिति आइतबारदेखि नै काममा लागेको छ।
मन्त्री दाहालले सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइते मजदुरहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै उनले घाइतेहरुको उपचारमा कुनै कमी नहोस् भनी मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक डा. विजय जैसीलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्।