प्रतिबन्धित लागू औषध र खैरो हिरोइन सहित ४ जना पक्राउ

विराटनगर। मोरङ र झापाका विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागू औषध र खैरो हिरोइन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले असार १ गते राति मोरङको उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाललाई विराटनगर महानगरपालिका–१५ स्थितबाट २ ग्राम १ मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, बिर्ताबजार प्रहरी चौकीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय निजाम मियालाई १ ग्राम ४४० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ।

यस्तै, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–७ का १९ वर्षीय पुष्कर मगरलाई ६२० चक्की प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।