त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित भारतीय महिला पक्राउ

विराटनगर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी अवैध सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा ५३ वर्षीया भारतीय नागरिक मीना सुर्जित सिंह खेमानी रहेको विमानस्थल प्रहरीले जनाएको छ। मंगलबार राति शारजाहबाट काठमाडौं अवतरण गरेको एयर अरेबियाको उडानबाट आएकी उनलाई भन्सार जाँचका क्रममा पक्राउ गरिएको हो।

विमानस्थलको आगमन भन्सार क्षेत्रको टनेलबाट आवतजावत गर्ने क्रममा उनलाई संका लागेपछि प्रहरीले थप जाँच गर्दा अर्धठोस अवस्थामा रहेको १ किलो १५९ ग्राम सुन फेला पारेको हो। प्लाष्टिकले बेरिएको तीन वटा डल्लाको रुपमा रहेको सुन खेमानीको साथबाट बरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकी खेमानीमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको विमानस्थल प्रहरीले जनाएको छ।

Add a Comment