विराटनगरमा टिपर ठक्करबाट एकको मृत्यु, चालक नियन्त्रणमा

विराटनगर । मोरङको विराटनगरमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन्।

दिउँसो करिब २ः३० बजे विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिरअगाडि उत्तरतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशाबाट गइरहेको टिपरले ठक्कर दिँदा स्कुटर पछाडि सवार ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो। उनी मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का बासिन्दा हुन्।

दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका बजगाईंलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक २० वर्षीय प्रितम बजगाईं भने सामान्य घाइते भएका छन्। उनी मृतक सुशील बजगाईंका छोरा हुन्।

दुर्घटनामा संलग्न टिपर (को १ क ९५३ नम्बर) र चालक कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कूलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Add a Comment