७ जनामा औलो संक्रमण पुष्टि

विराटनगर । चितवन जिल्लामा चालु आर्थिक वर्षमा ७ जनामा औलो (मलेरिया) रोगको संक्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार औलो संक्रमणको आशंकामा परीक्षण गरिएका ७ हजार ९८९ जनामध्ये ७ जनामा संक्रमण देखिएको हो।

भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार औलो संक्रमण देखिएका सबै व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएका हुन्। गत आर्थिक वर्षमा जिल्लामा १० जनामा संक्रमण देखिएको थियो। यस वर्ष संक्रमित सबै १५ वर्षभन्दा माथिका रहेको जनाइएको छ।

औलो रोग एनोफलिज जातको लाम्खुट्टेको टोकाइबाट सर्ने गर्दछ। संक्रमण भएपछि बिरामीलाई बारम्बार ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाडो लाग्ने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने जस्ता लक्षण देखिने जनाइएको छ।

केसीका अनुसार नेपालमा प्रायः पी भाइभाक्स परजीवीबाट सर्ने औलो देखिने भए पनि विदेशबाट फर्किने व्यक्तिमा पी फाल्सीपारम परजीवी भेटिने गरेको छ।

औलो रोग नियन्त्रणका लागि लाम्खुट्टेले फुल पार्ने स्थान हटाउने, घर तथा वरपरको वातावरण सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने जस्ता उपायहरू अपनाउनुपर्ने उनको सुझाव छ। जिल्ला जनस्वास्थ्य कार्यालयले औलो निवारण कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।