विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु
विराटनगर । इलामकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो। नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, ती महिलालाई मंगलबार बिहान ४:२० बजे गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचार सुरु गर्नु अघिनै बिहान करिब ६ बजे उनको मृत्यु भएको राईले जानकारी दिए।
राईका अनुसार ती महिलालाई श्वासप्रश्वासमा गाह्रो हुने र ज्वरो आउने समस्या देखिएको थियो। सोमबार झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। अवस्था बिग्रिएपछि थप उपचारका लागि उनलाई विराटनगर ल्याइएको थियो।
मृतकको शव प्रहरीको जिम्मा लगाइएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार इलाम प्रहरीसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइएको हो।
डीएसपी चुँडालले कोरोना संक्रमण फैलिन थालेको भन्दै सबै नागरिकलाई सावधानी अपनाउन आग्रह गरेकी छन्। प्रहरीले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि उनले बताइन्।
कोशी प्रदेशका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलका अनुसार, हालसम्म प्रदेशमा मृतकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।