एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठक आज बस्दै

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार हाल नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ, तर नतिजा सार्वजनिक गर्ने मिति भने अहिलेसम्म टुंगो लाग्न बाँकी छ।

यसै विषयमा निर्णय गर्नका लागि आज बोर्डको बैठक बस्ने तयारी गरिएको छ। यद्यपि बैठक कुन समयमा बस्ने भन्नेबारे हालसम्म निर्णय भइसकेको छैन।

बोर्डका एक अधिकारीका अनुसार आवश्यक प्राविधिक काम लगभग सकिएको र नतिजा छिट्टै सार्वजनिक हुने तयारी रहेको छ। बैठकपछि नतिजा प्रकाशनको मिति तय हुने अपेक्षा गरिएको छ।

चैत ७ गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

विद्यार्थी, अभिभावक र विद्यालयहरू अहिले नतिजा सार्वजनिक हुने मितिको प्रतीक्षामा छन्। बोर्डले नतिजा प्रकाशनको सम्पूर्ण प्रक्रिया पारदर्शी र त्रुटिरहित बनाउन विशेष ध्यान दिइरहेको जनाएको छ।

Add a Comment