सुनवर्षीमा ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, चालक नियन्त्रणमा
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। झपडतलबाट डाइनिया जाँदै गरेको मोटरसाइकलले अगाडि गइरहेको ट्याक्टरको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।
सुनवर्षी नगरपालिका–८, विश्वकर्मा चौक नजिकै सिजुवा–विराटनगर हुलाकी सडक खण्डमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–३, चौकीघाटका ४३ वर्षीय ढक्कुलाल गनगाई गम्भीर घाइते भएका थिए। छाती र घाटिमा चोट लागेका उनलाई रंगेली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न प्रदेश १–०२–०४५ प ९१६३ नम्बरको मोटरसाइकल र को १ त ६१९१ नम्बरको ट्याक्टर एकै दिशा तर्फ गइरहेका थिए। ट्याक्टरको पछाडि ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनापछि फरार रहेका ट्याक्टर चालक सुनवर्षी नगरपालिका–९, बिर्ताका २९ वर्षीय राजकुमार ऋषिदेवलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ भने ट्याक्टर सोही कार्यालयको नियन्त्रणमा रहेको छ। मोटरसाइकल भने झपडतल प्रहरी चौकीको जिम्मामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। यस घटनाले सवारीसाधन चलाउँदा सावधानी नअपनाउँदा कति ठूलो दुर्घटना निम्तिन सक्छ भन्ने चेतना फैलाएको स्थानीयहरू बताउँछन्।