रामधुनीमा मोटरसाइकल दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ बासबिटीमा शनिबार साँझ भएको एक भीषण मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार कालाबञ्जारबाट कान्छी चोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र इनरुवा नगरपालिका–६ का ५० वर्षीय विन्दु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए। घाइते अवस्थामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगिएकोमा उपचारका क्रममा तीनै जनाको ज्यान गएको हो।

दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी र विन्दु यादवसँगै सवार इनरुवा–७ का ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनास्थलको सडक अवस्था र दुबै सवारीको गति तेज भएको हुन सक्ने अनुमान गरिएको छ।

स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेको उद्धार र मृतकको शव पोस्टमार्टमका लागि धरान पठाइएको थियो। दुर्घटनाले स्थानीय समुदायमा शोकको छायाँ छाएको छ।