पूर्वाञ्चल विश्वविद्यालयद्वारा नेपालमै पहिलोपटक ‘एमएससी बायोस्टाटिक्टिक्स’ कार्यक्रम सुरु हुने

विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयले नेपालमै पहिलोपटक ‘एमएससी बायोस्टाटिक्टिक्स’ (Master of Science in Biostatistics) को शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको चिकित्साशास्त्र संकाय अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको डीन डा. शैलेशमणि पोखरेलले जानकारी दिए।

‘एमएससी बायोस्टाटिक्टिक्स’ जीव विज्ञान र स्वास्थ्य विज्ञान क्षेत्रमा सांख्यिकीय विधिको प्रयोगमा आधारित शैक्षिक कार्यक्रम हो। यो कार्यक्रम सार्वजनिक स्वास्थ्य, रोग नियन्त्रण, स्वास्थ्य नीतिनिर्माण र अनुसन्धानमा अत्यन्त उपयोगी मानिन्छ।

पाठ्यक्रम सञ्चालनको तयारीस्वरूप विश्वविद्यालयको चिकित्साशास्त्र संकायले विराटनगरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाठ्यक्रम निर्माण गरिने बताउँदै कार्यक्रमलाई विश्वस्तरिय बनाइने प्रतिबद्धता जनाइन्।

डीन डा. पोखरेलका अनुसार श्रम बजारको माग, स्वास्थ्य क्षेत्रको आवश्यकता तथा शैक्षिक दृष्टिकोणबाट गरिएको अध्ययनका आधारमा पाठ्यक्रम तयार पारिएको हो। कार्यक्रममा स्वदेशी तथा विदेशी विश्वविद्यालयका विज्ञ, विद्यार्थी, प्राध्यापक र सरोकारवालाको सक्रिय सहभागिता थियो।

कार्यक्रममा उपप्राध्यापक नवीन लामिछाने, सह–प्राध्यापक धरणीधर बराल, स्कूल अफ हेल्थ साइन्सेजकी निर्देशक दिप्ती सुब्बा, सह–डीन डा. श्यामकुमार मल्लिकले पाठ्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए।

सल्लाह र सुझाव दिने क्रममा सान डियगो स्टेट विश्वविद्यालयका प्राध्यापक डा. नवीन वैद्य, ओहायो विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा. प्रमेश सुवेदी, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका निवर्तमान अध्यक्ष प्रा. डा. गेहनाथ बराल, सदस्य डा. लिलि राजवंशी, त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयका जनस्वास्थ्य विभाग प्रमुखहरू प्रा. डा. आमोद पौड्याल र प्रा. डा. अर्चना श्रेष्ठ, साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन प्रा. डा. शिवेन्द्र झाले महत्त्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।

त्यस्तै, विषय समितिका सदस्य प्रा. डा. कादिर आलम, प्रा. डा. अनुप घिमिरे, कमला पराजुली, डा. मेदनीप्रसाद शर्मा, डा. मिनराज ढकाल, डा. कोमल प्रसाद दुलाल, डा. उत्तमकुमार रेग्मी, विश्वविद्यालय अनुदान आयोगका सदस्य प्रा. डा. शिवकुमार राई, र त्रिभुवन विश्वविद्यालय नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारीले पनि पाठ्यक्रमबारे टिप्पणी गरेका थिए।

नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज र मनमोहन प्राविधिक विश्वविद्यालयका प्राध्यापकहरूले समेत कार्यक्रमबारे सुझाव तथा प्रतिक्रिया दिएका थिए।

पूर्वाञ्चल विश्वविद्यालयको यो पहलले नेपालमा बायोस्टाटिक्टिक्सको अध्ययन–अभ्यासलाई नयाँ उचाइमा पु-याउने अपेक्षा गरिएको छ।