लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जना पक्राउ
विराटनगर। पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लाबाट प्रहरीले विभिन्न प्रकारका लागू औषधसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार १४ गते विभिन्न स्थानमा गरिएको अपरेशनबाट ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर, ट्रामाडोल र नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको हो।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितमा प्रहरी चौकी भरौलको टोलीले चेकजाँचका क्रममा प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारबाट १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ। गाँजा कालो प्लास्टिकको पोकोमा लुकाएर राखिएको थियो। उक्त कारका चालक मोरङ विराटनगर–४ का २६ वर्षीय धिरज गोसाई र सवारीमा सवार जहदा गाउँपालिका–७ का २२ वर्षीय विकास यादवलाई नियन्त्रणमा लिएको छ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचका क्रममा रतुवामाई–४ का ३५ वर्षीय रञ्जित शर्मा र ३० वर्षीय रोमबहादुर राजबंशीलाई ४१ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैदिन लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुन्दरहरैंचा नगरपालिका–७ का २१ वर्षीय रोहित मगरलाई २ ग्राम ४९ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। यस्तै, विराटनगर–११ का १९ वर्षीय निखिल मल्लिकलाई NITRAZEPAM नामक ७० ट्याब्लेटसहित र इलाका प्रहरी कार्यालय विराटचोकले सुन्दरहरैंचा–९ का २७ वर्षीय अनिल कुमारलाई ट्रामाडोलका ९० ट्याब्लेटसहित पक्राउ गरेको छ।
यसैबीच, लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा झापाले कनकाई नगरपालिका–३ का २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङका २० वर्षीय सिसिर लिम्बुलाई २ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेकामाथि लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।