ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते, तीनको अवस्था गम्भीर

विराटनगर। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गएराति आएको पहिरोले एक घर पुरिँदा चारजना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घरमा पहिरो खस्दा उनीसहित उनकी श्रीमती ठगमाया कटुवाल, छोरा जगत् कटुवाल र छोरी सम्झना कटुवाल घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार पहिरो घरमाथिको कुलो थुनिएर आएको पानीको दबाबका कारण खसेको हो । कटुवाल परिवारलाई छिमेकीहरुले उद्धार गरेका थिए ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।