बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सेयर आवेदन सुरु
विराटनगर । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) सार्वजनिक निष्कासन खुला गरेको छ।
कम्पनीले आफ्नो ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो। यस अन्तर्गत स्थानीय बासिन्दाका लागि ८ लाख ३० हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ।
स्थानीयका लागि छुट्याइएको सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा प्रदान गरिनेछ। तीमध्ये ६५ प्रतिशत हिस्सा बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने साविक पिपलकोट र कफल्सेरी गाविसका अति प्रभावित क्षेत्रका बासिन्दाका लागि हो। बाँकी ३५ प्रतिशत सेयर भने अन्य वडाका सामान्य प्रभावित क्षेत्रका बासिन्दालाई उपलब्ध गराइनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको २ लाख ७ हजार ५०० कित्ता सेयरमा आवेदन दिन चाहनेले नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त भएको प्रमाण पेश गर्नुपर्नेछ।
आवेदनको न्यूनतम सीमा १० कित्ता तोकिएको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
स्थानीय बासिन्दाका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। तर तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन अवधि साउन २६ गतेसम्म थप गर्न सकिनेछ। यता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने साउन ११ गते नै अन्तिम म्याद कायम गरिएको छ।