आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि रतुवा,सुनवर्षी,रंगेली,धनपालथान
आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि
दिलीप अग्रवाल । असार ३०, सोमबार । मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा आत्महत्या, सवारी दुर्घटना, डुबेर, विष सेवन तथा अन्य कारणले १२६ जनाको ज्यान गएको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ ।
सवैभन्दा धेरै आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या बढेको देखिएको छ । झुन्डिएर आत्महत्या गर्ने घटनाहरू पछिल्ला महिनाहरूमा तीव्ररुपमा बढेका छन् । मानसिक स्वास्थ्य समस्या, बेरोजगारी, लागुऔषधको दुर्व्यसनी, दीर्घरोग, पारिवारिक कलह, सामाजिक अपमान लगायतका कारणले आत्महत्याको घटना बढिरहेको रंगेली अस्पतालका मेडिकल अधिकृत डा. बिप्लव कार्कीले बताए । उनका अनुसार आत्महत्या गर्नेहरूमध्ये ९० प्रतिशत मानिसहरू कुनै न कुनै मानसिक वा सामाजिक समस्याबाट ग्रसित रहेका हुन्छन् ।
रंगेली इलाका प्रहरी कार्यालयका अनुसार, रंगेली नगरपालिकामा मात्रै डुबेर, झुन्डिएर, सवारी दुर्घटना, विष सेवन तथा अन्य कारणले ३७ जनाको ज्यान गएको छ । त्यसैगरी, सुनवर्षी नगरपालिकामा ३० जना, धनपालथानमा २२ जना र रतुवामाई नगरपालिकामा ३७ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
चार वटा पालिकामा एक वर्षको अवधिमा १२६ जनाले अकालमा ज्यान गुमाएको तथ्याङ्कले स्थानीय तह र सम्बन्धित निकायलाई गम्भीर चिन्ताको विषय बनाएको छ।