सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एकको मृत्यु, दुई गम्भीर घाइते

विराटनगर । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

मृतकको पहिचान रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानका रूपमा गरिएको छ। उनी ट्रकका सहचालक थिए। घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरीका अनुसार, आज बिहान करिब पौने ७ बजे रौतहटबाट लालबन्दीस्थित न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ट्रक उच्च भोल्टेजको विद्युत् तारमा छोिएको थियो। उक्त तारमा ११ हजार भोल्टको करेन्ट प्रवाह भइरहेको थियो।

करेन्ट लागेपछि तीनै जना घाइते भएका थिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले उद्धार गरी तत्काल नमुना अस्पताल, हरिवनमा पठाएको थियो। अस्पतालमा उपचारको क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको पुष्टि गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।