उच्च अदालत विराटनगरद्वारा मुद्धा फस्र्यौटमा कीर्तिमानी प्रगति, लक्ष्यको ८९.६०% मुद्धा फस्र्यौट

विराटनगर। न्याय प्रणालीमा ढिलासुस्तीको गुनासो बढिरहेका बेला उच्च अदालत विराटनगरले मुद्धा फस्र्यौटमा कीर्तिमानी प्रगति हासिल गरेको जनाएको छ। अदालतले विहीबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्म लक्ष्यको तुलनामा ८९.६० प्रतिशत मुद्धा फस्र्यौट गरिएको दाबी गरेको हो।

उक्त अवधिमा अदालतमा ८५८ मुद्धा दर्ता भएका थिए, जसमध्ये ७४८ मुद्धा फस्र्यौट भएका छन्। लागतको तुलनामा हेर्दा मुद्धा फस्र्यौट दर ६०.१७ प्रतिशत रहेको अदालतले जनाएको छ।

विगत ५ वर्षको तुलनामा यस वर्ष मुद्धा फस्र्यौटमा उल्लेखनीय वृद्धि देखिएको छ। अदालतका अनुसार न्यायमा पहुँच सहज बनाउने, ढिलासुस्ती घटाउने र सेवाग्राहीको समय तथा स्रोतको बचत गर्ने उद्देश्यले मुद्धा फस्र्यौटलाई प्राथमिकता दिइएको हो।

यसका लागि डिजिटल फाइलिङ्ग, ई–फाइलिङ्ग, नियमित पेशी र छिटो सुनवाई प्रक्रियालाई सशक्त बनाइएको छ।

कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले विगतका वर्षहरूको तुलनामा यसपालिको प्रगति विशेष र उदाहरणीय रहेको बताए।

साथै, कार्यक्रममा अभिलेख व्यवस्थापन सम्बन्धी विवरण पनि सार्वजनिक गरिएको थियो। अदालतका अनुसार हालसम्म जम्मा ७०,२४२ मिसिलमध्ये ६१,६९७ मिसिल सफ्टवेयरमा इन्ट्री गरिएको छ। बाँकी ८,५४५ मिसिल सफ्टवेयरमा इन्ट्री हुन बाँकी छन् भने १४,११८ मिसिल कम्प्युटरमा इन्ट्री गरिएको छ।

उच्च अदालत विराटनगरको यस उपलब्धिलाई न्यायिक कार्य सम्पादनको प्रभावकारी उदाहरणका रूपमा लिइएको छ।

Add a Comment