अमेरिकाको लस एन्जलसमा तालिम केन्द्रमा विस्फोट, तीन प्रहरी अधिकारीको मृत्यु
विराटनगर। लस एन्जलसस्थित काउन्टी शेरिफ विभागको तालिम केन्द्रमा भएको एक शक्तिशाली विस्फोटमा परी तीन जना प्रहरी अधिकारीको मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।
विस्फोट शुक्रबार बिहान ७:३० बजे (स्थानीय समय) मा भएको हो । घटनाको कारण हालसम्म स्पष्ट नहुँदा समेत अनुसन्धान कार्य तीव्र पारिएको छ ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै घटनालाई ‘भयानक’ भन्दै दुःख व्यक्त गरेकी छिन् । उनले तीन अधिकारीको मृत्यु पुष्टि गर्दै संघीय एजेन्सीहरू घटनास्थलमा पुगेको र अनुसन्धान गरिरहेको जानकारी दिएकी छिन् ।
विस्फोटको स्रोत र उद्देश्यबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ । सुरक्षा निकायले सम्भावित आतंकवादी आक्रमण, तालिमसम्बन्धी चुक वा उपकरणको त्रुटि जस्ता विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको छ ।
घटनाले अमेरिकी सुरक्षा संयन्त्रप्रति पुनः चासो र चिन्ता पैदा गराएको छ । स्थानीय बासिन्दालाई संयम अपनाउन र अनावश्यक क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ ।
घटनाबारे विस्तृत जानकारी सार्वजनिक भइरहँदा मृतक प्रहरी अधिकारीहरूको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन ।