सुनको मूल्यमा एकैदिन ३४ सय रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो

विराटनगर। नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला २ हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य २ हजार २३५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भइरहेको व्यवसायीहरूले बताएका छन्।

Add a Comment