सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

विराटनगर । भारतबाट नक्कली नोट ल्याउँदै गरेका दुई नेपाली नागरिकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्।

उनीहरू कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन्। दुवै जना लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट, अर्थात् ३८ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको हो।

घटनाबारे जानकारी दिँदै सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले दुवै जनामाथि थप अनुसन्धान जारी रहेको बताएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू भारतबाट नक्कली नोट नेपाल भित्र्याउने गिरोहमा संलग्न रहेको आशंका गरिएको छ।

प्रहरीले नक्कली नोट कारोबारमा संलग्नहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।