उत्तराखण्डको धारालीमा बादल फुट्दा ठुलो जनधनको क्षति, राहत तथा उद्धार कार्य जारी
विराटनगर । उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा पर्ने धाराली क्षेत्रमा गएको विनाशकारी बादल फाटको घटनापछि ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। हाल घटनास्थलमा विभिन्न सुरक्षा निकाय र उद्धार टोली राहत तथा उद्धार कार्यमा खटिएका छन्।
प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ (नेशनल डिजास्टर रिस्पोन्स फोर्स), एसडीआरएफ (स्टेट डिजास्टर रिस्पोन्स फोर्स), आईटीबीपी (इन्डो–तिब्बतियन बोरडर पुलिस) र भारतीय सेनाको टोली संयुक्त रुपमा उद्दारमा खटिएको छ। विपद् नियन्त्रण कक्षमार्फत घटनास्थलको निरन्तर निगरानी भइरहेको जनाइएको छ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरमार्फत घटनास्थलको हवाई निरीक्षण गरेका छन्। प्रारम्भिक विवरण अनुसार, १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने अहिलेसम्म ४ जनाको मृत्यु पुष्टि भएको छ। एनडीआरएफका डीआईजी मोहसेन शहेदीले भनेअनुसार, १०० भन्दा बढी मानिस अझै बेपत्ता छन् र मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
घटनामा भारतीय सेनाका नौजना सैनिक पनि बेपत्ता भएका छन्। भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले बीबीसी हिन्दीलाई बताएअनुसार, धारालीको खीरगंगा क्षेत्रमा आएको विनाशकारी बाढी तथा भग्नावशेषका कारण १४ राजपुताना राइफल्सका कमान्डिङ अफिसर कर्नल हर्षवर्धनको नेतृत्वमा खटिएको युनिट प्रभावित भएको हो।
हर्षिलस्थित सेनाको शिविरमा पानी पसेपछि ११ सैनिक बेपत्ता भएका थिए, जसमा दुईजनालाई सुरक्षित फेला पारिएको छ भने बाँकी नौजनाको खोजी कार्य जारी छ। सेनाको टोलीले हालसम्म २० जना स्थानीयलाई सुरक्षित रुपमा उद्धार गरिसकेको छ। थप सेनालाई घटनास्थल पठाइँदैछ।
एनडीआरएफका तीन वटा टोली थप उद्दार कार्यका लागि घटनास्थलतर्फ प्रस्थान गरेका छन्। घटनास्थलको भू–गर्भीय अवस्था जटिल रहेकाले उद्धारमा कठिनाइ भए पनि सबै निकाय मिलेर कार्यलाई तीव्र बनाइएको छ।
विनाशकारी वर्षा र बाढीले स्थानीय बस्ती, सडक र संचार सेवामा गम्भीर क्षति पुर्याएको बताइएको छ। प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री, सुरक्षित बसोबास र स्वास्थ्य सहायता पुर्याउने कार्यमा राज्य सरकार र केन्द्र सरकार दुवै सक्रिय छन्।