विराटनगरमा छैटौं संस्करणको विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता सुरु हुँदै

विराटनगर। विराटनगरमा छैटौं संस्करणको विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगिता साउन २३ गतेदेखि भदौ २१ गतेसम्म सञ्चालन हुने छ।

हिजो आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक त्रिलोचन बास्तोलाले प्रतियोगिता छात्र तथा छात्रा दुवै तर्फ सञ्चालन हुने जानकारी दिनुभयो। प्रतियोगिता ‘होम एण्ड अवे’ प्रारुपमा सञ्चालन गरिने छ।

संयोजक बास्तोलाका अनुसार प्रतियोगितामा कुल ११ विद्यालयको सहभागिता रहने छ। छात्रातर्फ बीकेभीएम, सेन्ट मेरिज, अरनिको, अर्पण, आदर्श, सगरमाथा, एभरेष्ट र सेन्ट जोसेफ स्कूल सहभागी हुने छन्।

त्यस्तै, छात्रतर्फ बीकेभीएम, सेन्ट मेरिज, अरनिको मावि, अर्पण मावि, आदर्श मावि, सगरमाथा मावि, एभरेष्ट मावि, सेन्ट जोसेफ मावि, सुन्दरहरैंचाको ब्राइट फ्युचर मावि र डिपिएस विराटनगरको सहभागिता रहनेछ।

छात्रातर्फको अघिल्लो संस्करणमा अरनिको मावि विराटनगर विजेता बनेको थियो। यसपटकको प्रतियोगिता साविक विजेता बीकेभीएम र शिक्षादीप स्कुलबीचको उद्घाटन खेलबाट सुरु हुनेछ।

Add a Comment