August 11, 2025
देशभर वर्षाको सम्भावना, भोलि र पर्सि धेरै भारी वर्षा हुने पूर्वानुमान
विराटनगर । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा नेपालमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज सातै प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसमविद् डेविड ढकालका अनुसार आजभन्दा भोलि र पर्सि वर्षाको तीव्रता अझ बढ्ने देखिएको छ। “आजभन्दा भोलि र पर्सि धेरै वर्षाको सम्भावना रहेको छ,” उनले बताए। आज ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने र भोलि भने धेरै भारी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ।
ढकालका अनुसार, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेर उत्तरतर्फ सर्दै जाँदा वर्षाको सम्भावना र तीव्रता दुवै बढ्ने प्रवृत्ति देखिन्छ। विभागले वर्षा बढी हुने क्षेत्रमा सावधानी अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।